काठमाडौं, ३० माघ- भारत ब्रिटिसको उपनिवेश रहेका बेला महाकाली नदीमा फलामको पुल बन्यो। करिब डेढ शताब्दीअघि बनेको उक्त पुललाई भारतले शारदा नदीको पुल भन्ने गर्छ। नेपालले महाकालीको पुल भने पनि अंग्रेजहरूले बनाएको उक्त पुल पूरै भारतमा पर्छ।
चलचित्रका सो जस्तै दिनमा तीन पटक मात्रै ढोका खोल्ने पुल पश्चिम नेपालको समृद्धिको बाधक थियो। तर नेपाल सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण गरिरहेको छ। करिब तीन अर्बको लगानीमा २०७४ सालदेखि निर्माण सुरु भएको चार लेनको पक्की पुलको निर्माण ७० प्रतिशतभन्दा बढी भइसकेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधारा र चाँदनी अथवा अहिलेको महाकाली नगरपालिकामा चार लेनको पुल बन्न थालेको हो। सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको महाकालीमा बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशकै समृद्धि हुने अपेक्षा गरिएको छ।
महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चाँदनीवासीलाई समेत यस पुलले भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त गर्नेछ। भारतका प्रमुख व्यापारिक सहरहरू यहाँबाट छोटो दूरीमा पर्छन्। भारतको राजधानी दिल्ली त्यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ। अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट नजिक छन्।
कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि महाकाली नदीमा बन्न लागेको पुल महत्वका साथ हेरिएको छ। हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन्। सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारीसाधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन्।
FACEBOOK COMMENTS