काठमाडौं, २३ माघ – नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् ।
संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गरे ।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैँ प्रधानमन्त्री र थापा सधैँ गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे ।
केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए । सेना र प्रहरीजस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे ।
‘सेनाका बख्तरबन्द गाडी र ट्यांकर निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौँ । जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार ! केपी ओली र रामबहादुर थापा सधैँ प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’
पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षित र सचेत रहेकाले धम्कीसँग नडराउने बताए । राज्यशक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए ।
‘ज्ञानेन्द्र देशैभरि र्याली गर्दै हिँडे । लाखौँ जनता महाराज भन्दै जान्थे । बुझेँ, सुनेँ भन्दै टाउको हल्लाएर हिँडेका थिए । आज कहाँ टाउको हल्लाउँदै हिँडेका छन् थाहा छ कि छैन ?’, पुनले भन्नुभयो, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ, त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ ।’
FACEBOOK COMMENTS