काठमाडौं, असोज २३ – नेपालको सबैभन्दा ठुलो र जेठो शैक्षिक परामर्शदाता संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आज शुक्रबार भक्तपुर र काठमाडौं जिल्लाका दुई सामाजिक संस्थामा पुगी ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लामो समय बन्दाबन्दी र निषेधाज्ञाले नेपालमा पनि ज्येष्ठ नागरिक ब्यबस्थापन गर्ने र ज्याला मजदुरी गर्ने श्रमिक बर्ग संघ सस्थाहरु अफ्ठ्यारो परिरहेको अवस्थामा ईक्यानले यो सहयोग गरेको हो ।
ईक्यान केन्द्रिय कार्यसमितिले आज भक्तपुर जिल्लाको कौशलटारमा रहेको मानव सेवा आश्रमको भक्तपुर शाखामा आश्रित बालबालिका तथा बेसहारा, असहाय, अश्क्त ज्येष्ठ नागरिकहरुको जिवीकोपार्जनमा सहयोग गर्ने उद्देश्यबाट एक महिनाको खानाको लागि आवश्यक सामाग्रीहरु बितरण गरेको छ ।
यो सहयोग ईक्यानको सस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता रहेको इक्यान अध्यक्ष प्रकाश पाण्डेले बताए । पाण्डेका अनुसार जेष्ठ नागरिकप्रति कुनै पनि सस्थाले सकारात्मक सोच र व्यवहार प्रदर्शन गरेमा मात्र उहाहरुप्रती सच्चा स्नेह, माया, प्रेम र सद्भाव प्रकट गरेको ठहरिन्छ । ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन् भन्ने कुरा स्थापित हुन जरुरी रहेको र यो सानो सहयोग त्यसकै प्रतिबिम्ब रहेको पाण्डेले बताए ।
ईक्यानका महासचिव दिपकराज भुषालले जीवन रहेमा जगत रहने छ, जगत रहे व्यवसाय पनि एक दिन पक्कै लयमा फर्किन्छ भन्ने दृढ विश्वासका साथ अघि बढिरहेको बताए । वर्तमान संकटपुर्ण घडीमा सक्षमहरुले महामारीको वढि मारमा परेकालाई सकेको सहयोग गर्नु पर्दछ भन्ने मान्यता आफुहरुको रहेको उनको भनाई छ ।
एक बर्ष देखी संचालित उक्त आश्रमको भक्तपुर शाखामा ४७ जना आश्रित रहेका छन् भने उक्त आश्रम मकवानपुर जिल्ला हेटौडामा मुख्य कार्यलय राखी ८ बर्ष देखी सन्चालनमा रहेर जेष्ठ नागरिकहरुलाई सेवा गर्दै आइरहेको छ ।
त्यस्तै आजै ईक्यानले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वदित आशा बिधाश्रमलाई पनि आबश्यक सहयोग गरेको छ । ईक्यानले त्यहाँ आश्रीत ११० जना बिधार्थीहरुको लागी जोबिकोपार्जन सम्बन्धि आवश्यक सामाग्रीहरु उपलव्ध गराएको हो ।
होप वल्डवाइड नेपाल सन १९९४ मा स्थापना भएर श्रमजिबी मजदुरका बालबालिकाको शिक्षा र ब्यक्तित्व बिकाससँग सम्बन्धि काम गर्दै आइरहेको संस्था हो । ईक्यान सामाजिक उत्तरदायित्व बिभाग संयोजक सुश्मा आचार्यले इक्यान जस्तो सुकै विपतमा पनि यथासक्य सामाजीक सेवामा प्रतिवद्ध र समर्पित रहदै आएको र नेपाली समाजलाई सबै प्रकारको सहयोग गर्ने एउटा अग्रणी संस्था बनिसकेको जनाएकि छिन ।
ईक्यानका माथि उल्लेखित सहयोग कार्यक्रमहरु इक्यानको सामाजिक उत्तरदायित्व बिभागले संयोजन गरेको हो। सहयोग कार्यक्रममा इक्यानबाट अध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष देवीदास भट्टराई, महासचिव दिपकराज भुसाल, कार्यसमिति सदस्यहरु सुश्मा आचार्य, आर्यन उप्रेती र सल्लाहकार डिल्लिराज धिताल सहभागी भएका थिए ।
FACEBOOK COMMENTS