काठमाडौं, श्रावण ३१ – बिहीबार काठमाडौं न्यूरोडस्थित बिशाल बजार अगाडिको एक ज्वेलरीमा कार्यरत ३ कर्मचारीमा कोरोना सक्रमण पुष्टि भयो। अत्यन्त व्यस्त र भिडभाड हुने क्षेत्रमा कोरोना भाइरस संक्रमण देखिएपछि अन्य व्यक्तिमा चाँडै फैलने र समुदायमा पुग्ने चिन्ता देखिएको भन्दै महानगरपालिकाले तदारुकता देखाउँदै न्यूरोडका केही क्षेत्र सिल गर्ने र पसलहरु बन्द गराउने निर्णय शुक्रबार गर्यो।
जुद्ध सालिकदेखि असन, इन्द्रचोक, मक्खन गल्ली पूर्ण रुपमा एक साताका लागि बन्द गरिएको छ। ज्वेलरीका कर्मचारीहरु उक्त क्षेत्रमा घुमेकाले न्युरोड जुद्ध सालिकदेखि उत्तरपट्टि पूर्ण रुपमा बन्द गरिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
‘बिहीबार कोरोना पुष्टि भएसँगै असन, इन्द्रचोक, महाबौद्ध, न्युरोडमा कोरोना संक्रमितको संख्या बढेको देखियो,’ प्रवक्ता डंगोलले भने, ‘चारैतिरबाट कोरोनाले घेर्यो। वडा नम्बर २४ मा पनि देखिएपछि केही क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको हो।’
ज्वेलरीमा कार्यरत कर्मचारीमा कोरोना भेटिएपछि ज्वेलरीमा आउने ग्राहक देखि चिया खाजा ल्याउने व्यत्ति सम्मलाई पिसिआर परीक्षण गरिने वडा नम्बर २४ का वडा सदस्य विनोद तुलाधारले जानकारी दिए। ‘चिया खाजा पुर्याउने एकै व्यक्ति धेरै ठाउँमा गएको हुन्छ,’ वडा सदस्य तुलाधारले भने, ‘अब चियारखाजा पुर्याउनेदेखि पसलमा आएकासम्मलाई कन्ट्याक्ट ट्रेसिङ गर्ने भएका छौँ।’