काठमाडौं, माघ २४ – नेपाली क्रिकेटर सोमपाल कामीले टी-१० लिगमा नयाँ अनुभव हासिल गरेको बताएका छन् ।
साविक विजेता मराठा अरेबियन्सबाट चौथो संस्करण खेलेका सोमपालले लिग चरण र सुपर लिगमा गरी जम्मा ६ खेल खेले र तीन विकेट लिए । उनले शनिबार ट्वीट गर्दै अरेबियन्स परिवारको सदस्य हुन पाएको आभार व्यक्त गरेका छन् ।
सोमपालले आफ्नो अन्तिम खेलमा डेक्कन ग्लाडिएटर्स विरुद्ध २ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए ।
समूह चरण र सुपर लिग गरी ६ खेल खेल्दा १ खेल मात्र जितेको साविक विजेता मराठा अरेबियन्स जम्मा २ अंकसहित ८ टिम सहभागी लिगमा सातौं स्थानमा रहृयो । ‘मैले टिमसँग इन्जोय गरेँ र राम्रो अनुभव लिएँ, जसले मलाई अझै राम्रो गर्न सहयोग गर्छ’ सोमपालले ट्वीटमा लेखेका छन् ।
यस्तै करण केसीले पनि टी-१० लिगमा लगातार ६ खेल खेले । पुने डेभिल्सबाट ६ खेल खेेलेका उनले जम्मा एक विकेट लिए ।
उनले टीम अबुधाबीका क्रिस गेललाई बोल्ड गरेका थिए । ६ खेलबाट २ अंक जोडेको पुने डेभिल्स अन्तिम स्थानमा रहृयो ।
टीम अबुधाबीमा आवद्ध खेलाडी क्रिकेटर कुशल मल्लले भने कुनै पनि खेल खेल्ने अवसर पाएनन् । एलिमिनेटरसम्म पुगेको अबुधाबीले कूल ८ खेल खेल्दा कुशल बेन्चमै रहे ।
अबुधाबीले तेस्रो स्थानका लागि आज कलन्दर्ससँग खेल्दैछ । अबुधाबीमा यस पटक नेपालका अलराउण्डर पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा रहेका थिए ।
FACEBOOK COMMENTS