काठमाडौँ, ०२ माघ – अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक महाअभियोग प्रस्ताव पारित गरेको छ। अमेरिकामा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प बनेको जनाइएको छ।
अमेरिकी संसद् भवनमा बुधबार ट्रम्पका समर्थकले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदले महाअभियोग प्रस्ताव अघि सारेका थिए। महाअभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ। महाअभियोग पारित हुन २ सय १७ मत आवश्यक थियो।
हाउस अफ रिपे्रजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका २ सय २२ जना सदस्य छन्। तर, ट्रम्पको रिपब्लिकन पार्टीका १० सांसदले पनि महाअभियोगको पक्षमै मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। महाअभियोग प्रस्तावको विपक्षमा १ सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए।
हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०१९ मा पनि उनीविरुद्ध महाअभियोग पारित गरेको थियो। तर, त्यस समय भने उनको दल रिपब्लिकनका एक जना पनि सांसदले महाअभियोगको पक्षमा मत दिएका थिएनन्।
महाअभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पारित हुनुपर्नेछ। उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुईतिहाइ आवश्यक हुन्छ। यस प्रयोजनका लागि सिनेटमा कम्तीमा १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाअभियोगको पक्षमा उभिनुपर्नेछ। तर, यो सम्भावना भने कम देखिन्छ। –
