काठमाडौं,४ फागुन- संसद भवनमा जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिंसात्मक आक्रमण अनुसन्धानका लागि स्वतन्त आयोग गठन गर्ने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छन् ।
सो आयोग सदन भन्दा बाहिर हुने र स्वतन्त्र रहने पेलोसीले स्पष्ट पारेकी छन् ।
सांसदहरुलाई पठाएको पत्रमा सभामुख पेलोसीले सो आयोग सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्क र पेन्टागनमा भएको आतंकवादी आक्रमणको अनुसन्धानका लागि गठित आयोग जस्तै हुने उल्लेख गरेकी छन् ।
पेलोसीले भनेकी छन्, ‘कसरी संसद भवनमा यस्तो आक्रमण भयो भन्ने बारे हामीले सत्य थाहा पाउनै पर्छ ।’
पूर्व राष्ट्रपति ट्रम्पलाई माथिल्लो सदन सिनेटले संसद भवनमा भएको आक्रमणका लागि उक्साएको आरोपमा लागेको महाभियोगबाट उन्मुक्ति दिएको छ ।
तर एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान जाने गरि भएको सो आक्रमणबारे अनुसन्धान गर्नका लागि स्वतन्त्र आयोग गठन गर्ने विषयमा डेमोक्र्याट तथा केही रिपब्लिकनहरुले आफ्नो समर्थन प्रस्तुत गरेका छन् ।
संसद भवनमा भएको आक्रमणपछिका हप्ताहरुमा सुरक्षा अवस्थाबारे अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल रसेल अनरेको नेतृत्वमा अनुगमन गरिरहेको पनि पेलोसीले बताएकी छन् ।
लेफ्टिनेन्ट जनरल अनरेको प्रारम्भीक अनुसन्धानका आधारमा क्यापिटलमा रहेका सांसद तथा त्यहाँ कार्यरतहरुको सुरक्षाका लागि सदनले थप रकम बिनियोजन गर्नु पर्ने देखिएको पेलोसीको भनाई छ ।
पेलोसीले भनेकी छन्, ‘सिनेटमा महाअभियोगमाथि भएको सुनुवाईको क्रममा आएका थप तथ्य तथा प्रमाणहरुले यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने थाहा पाउनै पर्ने देखिएको छ ।’
आयोगले आक्रमणको कारणबारे तथ्य र कारणका आधारमा अध्ययन गर्ने पेलोसीले बताएकी छन्।
FACEBOOK COMMENTS