काठमाण्डौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएकालाई चालक अनुमतिपत्र (लाइसेन्स) दिएको आरोपमा १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख (उपसचिव) तेजनारायण यादवसहित १० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा उपसचिवसहित ६ अधिकृत छन् ।
अख्तियारले एकान्तकुना कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी, नायब सुब्बा लेखनाथ भुसालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
त्यसैगरी ठूलो भर्याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खडकी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा ती कर्मचारीले ट्रायल फेल भएकालाई लाइसेन्स दिएको खुलासा भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले बताए ।
—कान्तिपुर
FACEBOOK COMMENTS