काठमाडौं, भदौं ८ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एवं अरु नेताहरुबीचको सत्ता संघर्षको किचलो साम्य हुने देखिएको छ ।
त्यसका लागि हाल लाभको पदमा रहेका केहीले भने बिदा लिनुपर्ने अर्थात् हात धुनुपर्ने भएको छ । नेताहरुको सत्ताकांक्षा पूरा गराउने क्रममा वर्तमान संघीय सरकारमा रहेका केही मन्त्री र प्रदेशका मुख्य मन्त्रीसमेतले बिदा पाउने छन् ।
झण्डै झण्डै फूटको अवस्थामा पुगेको नेकपालाई मिलाउने सुझाव पेश गर्न अध्यक्षद्वयले ६ सदस्यीय कार्यदल बनाउनुभएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको उक्त कार्यदलमा रहेका मध्ये नै केही अब हुने मन्त्रिपरिषद पुनर्गठनमा मन्त्री बनेर भित्रिने बताइएको छ ।
यसका लागि सरकारमा रहेका केही मन्त्रीहरुले ठाउँ छोड्नुपर्ने छ । अर्थात् पार्टीभित्र नेताहरुको सत्ताकांक्षा साम्य पार्न प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउनु हुनेछ भने केही नयाँलाई प्रवेश गराउनु हुनेछ ।
यस्तोमा अर्थमन्त्री डा. युवराज खतिवडा बर्हिगमनमा पर्नुहुने भएको हो । हाल सांसद नै नरही मन्त्री हुनुभएका उहाँको बिना सांसद मन्त्रीमा रहने अवधि सकिन लागेको छ । २०७६ फागुन २१ मा मन्त्री बन्नु भएका उहाँ सांसद बन्न नसक्दा ६ महिनामा पद त्याग्नुपर्ने संवैधानिक बाध्यता छ । त्यस अनुसार उहाँको ६ महिने पदावधि २० सम्म मात्र रहेको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गर्नुभएका खतिवडाको राष्ट्रिय सभा सांसदहरुको पदावधि निर्धारणका लागि गोला चुन्दा दुई वर्ष कार्यकाल परेकाले सांसद पद गएको हो ।
यद्यपि, राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सीट अझै रिक्त रहे पनि खतिवडालाई लैजाने अवस्था नरहेको नेकपा स्रोतले जनाएको छ । एक समय उक्त पदमा नेता वामदेव गौतमलाई लैजाने तयारी पनि भएको थियो । गैरराजनीतिक पृष्ठभूमि (पूर्व गभर्नररयोजना आयोगको उपाध्यक्ष) रहेका खतिवडाले साँढे दुई वर्ष मन्त्रीका रुपमा अर्थ मन्त्रालय चलाउनुभयो ।
तर उहाँको यस अवधिमा मुलुकको अर्थतन्त्रले गति पक्डन नसकेको स्वयं नेकपाकै नेताहरुले बताएका छन् । यस्तोमा नेकपाभित्रैबाट नयाँ अर्थमन्त्री बनाउन खोजी भइरहेको छ ।
नयाँ अर्थमन्त्री बन्ने दौडमा पूर्वअर्थमन्त्रीत्रय विष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुनदेखि संवैधानिक अवरोध नआए वामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेत रहेको बताइएको छ ।
FACEBOOK COMMENTS