काठमाडौं, कात्तिक १८ – अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन्। स्थानीय मिडियाका अनुसार स्वास्थ्यमा समस्या देखिएका म्याराडोनालाई ला प्लाटाको एक अस्पतालमा भर्ना गरिएको छ। स्थानीय मिडियाका अनुसार म्याराडोनाको अवस्था गम्भिर छैन। उनलाई कोरोनाको संक्रमण पनि नभएको बताइएको छ। केही दिनअघि कोरोनाको परीक्षण गर्दा नेगेटिभ नतिजा आएको थियो।
अर्जेन्टाइन क्लब जिम्नासियाका प्रशिक्षक म्याराडोना गत शुक्रबार सार्वजनिक रुपमा देखिएका थिए। उनको ६०औं जन्मदिनको अवसरमा क्लबले उनलाई सम्मान पत्र दिएको थियो। पैत्रोनातोविरुद्धको खेलअघि उक्त सम्मान दिइएको थियो।
तर खेलका लागि म्याराडोना मैदानमा बसेका थिएनन्। स्वास्थ्यमा समस्या भएपछि उनी खेलका लागि नबसेको बताइएको छ। बेलाबेला बिरामी भइराख्ने म्याराडोना यसअघि जनावरी २०१९ मा पनि अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको पेटमा समस्या देखिएको थियो।
महान् फुटबलरको दर्जा पाएका म्याराडोनाको एकल प्रदर्शनमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्न सफल भएको थियो। उनले इटालीको सिरिया क्लब नेपोलीलाई दुई पल्ट लिग उपाधि जिताएका थिए।
उनी बार्सिलोना, सेभिया र बोका जुनियर्स क्लबबाट पनि देखा परे। उनी र ब्राजिलका विख्यात स्ट्राइकर पेलेबीच उत्कृष्टताको होड अहिले पनि जारी छ। खेल जीवनमा म्याराडोना थुप्रै पल्ट विवादमा परेका थिए। उनलाई कोकिन प्रयोग गरेको आरोपमा १५ महिना प्रतिबन्ध लगाइएको थियो।
उनीमाथि १९९४ को विश्वकपमा शक्तिवर्धक लागु औषध प्रयोग गरेको आरोप लागेको थियो। १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध उनले हातले गरेको गोल अहिले पनि ‘ह्याण्ड अफ गड’ को रुपमा चर्चित छ।
FACEBOOK COMMENTS