काठमाडौं, वैशाख ८ – टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले प्रभु टीभीलाई एक्वाएर गर्ने भएको छ । केही साताभित्रमा डिशहोमले प्रभु टीभीलाई एक्वाएर गर्ने कम्पनीले जानकारी दिएको छ ।
एउटै विजनेशमा दुईवटा कम्पनी भएको हुँदा खर्च बढ्ने तथा लगानीकर्तासमेत एउटै भएको हुँदा डिशहोमले प्रभु टीभीलाई एक्वाएर गर्न लागेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।
डिशहोमको २ अर्ब र प्रभु टीभीको ४० करोड रुपैयाँ चुक्ता पूँजी छ । डिशहोममा चिनियाँ लगानीकर्तासहित आईएमई ग्रुप, सुदीप आचार्य र प्रभु ग्रुपको लगानी छ । प्रभु टीभीमा प्रभु ग्रुपको लगानी छ ।
टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम मर्जरबाट नै अगाडि बढेको हो । डाइरेक्ट टू होम टेलिभिजन सेवा प्रदायक कम्पनी एकैपटक डिश टीभी र होम टीभी सञ्चालनमा आएका थिए । एउटै उद्देश्यका लागि २ वटा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने भएपछि डिश र होम टीभी मर्ज भएर डिशहोम बनेको हो ।
डिशहोमको अध्यक्ष केही वर्ष अगाडिसम्म प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन थिए । उनले डिशहोममा रहेको केही प्रतिशत सेयर बेचेर प्रभु टिभी सञ्चालनमा ल्याएका थिए । तर, बजारमा खरोरुपमा प्रतिस्पर्धामा उत्रिनका लागि आफ्नोसमेत लगानी रहेको डिशहोममा एक्वाएर हुन प्रभु ग्रुप सहमत भएको हो ।
FACEBOOK COMMENTS