काठमाडौं – राष्ट्रिय सरोकार तथा समन्वय समितिले डीपीआर विना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाउन नहुने निश्कर्ष निकालेको छ ।
ईआईए रिपोर्टका आधारमा मात्रै काम भइरहेको तर, डीपीआर तयार नभइ कानुन अनुसार काम अगाडि नबढेकाले त्यसलाई प्रक्रियागत रुपमा जानु उपयुक्त हुने निष्कर्ष समितिको रहेको छ ।
औपचारिक रुपमा बसेर उक्त स्थलगत अवलोकनका क्रममा पाइएका विषयबारे छलफल गरी सरकारलाई आवश्यक सुझाव निर्देशन दिने समितिले जनाएको छ ।
डीपीआर नै तयार नभइ धेरै चर्चाको विषय बनाइएकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तयार गरी टेण्डर प्रक्रियाबाट काम अगाडि बढाउन समितिले सरकारलाई निर्देशन गर्नसक्ने समितिका एक सदस्यले बताए ।
‘टाँगिया र गोठगाउँ बस्ती ब्यवस्थापन लगायतका काममा पनि सरकारलाई झकझक्याउनुपर्ने देखिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘समिति बैठक बसेर कम वन विनास गरी कसरी उक्त आयोजना अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि समितिले आवश्यक पहल गर्नेछ ।’
स्थलगत निरीक्षण गर्न यही मंसिर २४ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थल पुगेको समितिको टोली २५ गते नै काठमाडौं फकिएको थियो ।
FACEBOOK COMMENTS