काठमाडौं । पछिल्लो डेढ महिनायता तेलको मूल्यमा ठूलो गिरावट आउँदा पनि नेपाल आयल निगमले त्यसअनुसार मूल्य समायोजन गरेको छैन । २० चैतमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन रोकिएको छ । बजारमा खपत नै नभएको अवस्थामा मूल्य समायोजन गर्नुको अर्थ नरहेकाले यथावत् राखिएको निगमको तर्क छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले १९ वैशाखमा खदिर मूल्य घटे पनि मूल्य समायोजन नगरेकोबारेमा विज्ञप्तिमार्फत यसो भनेका छन् ।
‘पछिल्लोपटक आइओसीबाट १९ वैशाखमा प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, ०७१ अनुसार बिक्री मूल्य समायोजन गर्नुपर्ने भए तापनि वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेको कारणले हाललाई पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको बिक्री मूल्य यथावत् नै राखिएको जानकारी गराइन्छ ।’ खपत घटेका कारण मूल्य समायोजन नगरेको कारण देखाउने निगमले त्यतिखेर १५ दिनमा ५० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको थियो ।
FACEBOOK COMMENTS