काठमाडौं,कार्तिक १७- नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ स्वतह निलम्बनमा पर्ने भएका छन् । उनीमाथि वित्तीय स्थायित्वमा आँच पुर्याएको आरोप लगाइएको छ । राष्ट्र बैंकले उनीमाथी लागेको आरोप छानविनका लागि समिति बनाएपछि श्रेष्ठ स्वतह निलम्बनमा पर्ने कानूनी व्यवस्था छ ।
मन्त्रिपरिषद बैठकले नै श्रेष्ठ माथि छानविन गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार तिहार अगाडी बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय भएको थियो ।सोहि अनुसार श्रेष्ठमाथि छानविन प्रक्रिया अगाडी बढ्न लागेको हो । तर, डेपुटी गभर्नर श्रेष्ठले आफ्नो राय राख्ने अवसर भने पाउनेछन् ।
श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लागेको छ ।
नेपाल राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा संचालकहरु पदमुक्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नका लागि समिति गठन गर्ने छ । समिति गठन हुनासाथ आरोप लागेको व्यक्ति स्वत पदबाट निलम्बन हुने कानूनी व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।
श्रेष्ठ २०७२ सालमा डेपुटी गभर्नर भएका हुन । उनको जिम्मेवारीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी क्रियाकलाप, बैंक तथा वित्तीय संस्थामाथिको सुपरिवेक्षण, संस्थागत योजना, सुचना प्रविधि र वित्त व्यवस्थापन विभाग लगायत छन् ।
FACEBOOK COMMENTS