काठमाडौं, मंसिर ६ – सरकारले ढुक्क भएर नेपालमा लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।
शुक्रबार नेपाल चेम्बर अफ् कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरुसँग गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सले पनि नेपालले फड्को मारेको बताउँदै उनले नेपालमा लगानी गर्न उपयुक्त हुने पनि बताए । उनले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एक द्वार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पारे ।
कार्यक्रममा फिनल्याण्डका राजदूत पेरटी एन्टीनेनले फिनल्याण्डका लगानीकर्ताहरु नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । उनले दुई देशबीचका उद्योगीहरुको सम्बन्ध बलियो बन्दैं गएकाले लगानी र व्यापारका आधारहरु बन्दै गएको पनि बताए ।
उक्त कार्यक्रममा नेपाली व्यवसायीहरुले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS