विराटनगर, कार्तिक १९ – भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ । निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने भएको छ ।
भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन विस्तार गरिएको थियो तर नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहरा बताउनुहुन्छ ।
अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ । ‘यार्ड साँघुरो हुँदा सबै कन्टेनर राख्न सक्ने अवस्था नरहेसम्म कार्गोबाट सेवा लिन सकिँदैन,’ मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराले भन्नुभयो ‘कार्गो रेलबाट सेवा लिनका लागि यार्ड विस्तार गर्नु अनिवार्य छ ।’
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले रेल्वे कस्टम यार्ड विस्तार गर्नुपर्ने सुझाव भन्सार विभागलाई गराइसकेको बताउनुभएको छ । ‘हामीले कार्गो रेल सञ्चालन गर्न यार्डको क्षमता बढाउनुपर्छ भनेर विभागलाई जानकारी गराएका छौँ,’ पौडेलले भन्नुभयो ‘तत्काल रेलबाट सामान ढुवानी गर्ने अवस्था छैन ।’ अहिलेको यार्डसँगै जोडिएको पूर्वतर्फको जमिन अधिग्रहण गरेर यार्ड विस्तार गर्नसकिने सम्भावना रहेकाले त्यसको जानकारी पनि विभागलाई गराइएको उहाँले बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा सरकारले तत्काल यार्ड विस्तार गर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताउनुहुन्छ । ‘रेलबाट सामान ल्याउँदा ढुवानी खर्चमा धेरै बचत हुन्छ,’ उहाँले भन्नुभयो ‘रेल सञ्चालनका लागि सबै पूर्वाधार तयार भइसकेको छ अब पूर्वतर्फको खाली जमिनमा यार्ड विस्तार गर्नुपर्छ ।’
बुधनगरदेखि कटहरीसम्म रेलवे लाइन विस्तारको काम भइरहेको र कटहरीमा पनि यार्ड बन्ने भएकाले तत्काल बुधनगरमा विस्तार नगर्ने हो कि भन्नेमा सरकार अलमलिएको देखिन्छ । यद्यपि विराटनगर भन्सार कार्यालयले नै बुधनगरको यार्ड विस्तार गर्नुपर्ने सुझाव दिएकाले विभागले सोहीअनुसार योजना बनाउने बताइएको छ ।
विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच केन्द्र भन्सार विभागलाई हस्तान्तर गर्ने तयारी भइरहेको छ । त्यससँगै यात्रु तथा सबै मालवाहक ट्रक सोही मार्गहुँदै विराटनगर हुँदै गन्तव्यसम्म पुग्ने छन् । कार्गो रेलबाट सोझै नेपालसम्म सामान ढुवानी गर्ने सपना भने तत्काल पूरा नहुने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS