काठमाडौँ, फागुन ६ – तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा लघु जलविद्युतमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तार गरिएको हो । नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रममार्फत तनहुँलाई पूर्ण विद्युतीकरण गरिने छ ।
त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सफर्मर बिहीवार सञ्चालन (चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इञ्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । ‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौँ, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्ने छ’, उहाँले भन्नुभयो, ‘लाइन पुगेपछि त्यस क्षेत्रका झण्डै पाँच सय घरधुरी लाभान्वित हुनेछन् ।’
विद्युत् आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक÷एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पुर्याइ विद्युत् आपूर्ति सुरु गरिएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इस्ट इण्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मङ्सिर १३ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार (१४ करोड ८८ लाख रुपैयाँ) रहेको छ ।
ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३/११ केभी वितरण लाइन निर्माण गर्ने छ ।
कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेशन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।
FACEBOOK COMMENTS