नेपालगञ्ज, कार्तिक ९ – दशैँ सुरु हुनुभन्दा पहिले वृद्धि हुन थालेको तरकारीको मूल्यमा तिहारको बेलामा आएर आकाशिएको छ । दशैँको बेला तरकारीको मूल्य दोब्बर वृद्धि भएको थियो भने मूल्य वृद्धि हुने क्रम जारी रहेको उपभोक्ताले आरोप लगाएका छन् ।
केही दिन पहिलेसम्म ८० रुपियाँ किलो पाइने भिन्डी अहिले आएर १०० रुपियाँ प्रतिकिलो पुगेको स्थानीय रानीतलाउ थोक तरकारी मण्डीले जनाएको छ । मण्डीका अनुसार ७० रुपियाँ किलो पाइने खुर्सानी अहिले ९० रुपियाँ किलो पुगेको छ भने ५० रुपियाँमै पाइने लौकाको मूल्य ८० रुपियाँ प्रतिकिलो पुगेको छ ।
दशैँको मुखमै आएर तरकारीको मूल्य दोब्बर वृद्धि भएकोमा तिहार लाग्दा नलाग्दै फेरि मूल्य बढेको नेपालगञ्ज–११ का उपभोक्ता गयास सिद्दिकीले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले त जसले जति चाह्यो, मनपरी तरिकाले मूल्य लिने गरेका छन् । न अनुगमन छ, न मूल्य वृद्धि गर्नेलाई कुनै कारबाही नै भएको छ ? उता, गाउँबाटै तरकारी ल्याउनेले मूल्य बढाएकाले आफूहरू पनि मूल्य बढाउन बाध्य भएको स्थानीय व्यवसायीले दाबी गरेका छन् ।
नेपालगञ्जमा तरकारी आपूर्ति गर्दै आएको रानीतलाउ थोक तरकारी मण्डीका अनुसार हरियो खुर्सानी प्रतिकेजी १००, बन्दा ८०, फूलगोभी ७०, धनिया पचास ग्रामको ४०, लौकी प्रतिकेजी ८० र करेला प्रतिकेजी ९० रुपियाँमा बिक्री भइरहेको छ । विगत केही समययता तरकारी बजारमा कम आउन थालेकाले मूल्य बढ्दै गएको रानीतलाउ सब्जीमण्डीका तरकारी व्यापारी रफिक कबडियाले बताउनुभयो । उहाँका अनुसार चाडपर्वका बेला सधैँ तरकारीको मूल्य बढ्ने गरेको हुँदा यस पटक पनि बढेको हो । चाडपर्व सकिएपछि फेरि मूल्य घट्ने केही व्यवसायीको भनाइ छ ।
अहिले भारतबाट तरकारी आउन कम भएकाले पनि मूल्य बढ्दै गएको अर्का व्यवसायी रमजान कबडियाले बताउनुभयो । तरकारीको मूल्य वृद्धिको प्रभाव आम उपभोक्तादेखि यहाँका होटेल व्यवसायीलाई सबैभन्दा बढी परेको छ । नेपालगञ्जमा तारे होटलदेखि सामान्यखाले होटलसम्मले स्थानीय बजारबाटै तरकारी किन्ने गर्छन् । स्थानीय बजारमा तरकारीको मूल्य सानो अन्तरालमा दुईपटक वृद्धि भएपछि सर्वसाधारण पनि समस्यामा परेका छन् । केही समययता निरन्तर तरकारीको मूल्य बढ्दै गएका कारण अधिकांश भान्सामा तरकारी घटेको स्थानीयको भनाइ छ । तरकारीको मूल्य वृद्धि हुन नदिन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उपभोक्ताको माग छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS