काठमाडौं ,कार्तिक १२ – असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन(नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने भएको छ। यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो।
त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको हो। वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले बताए।