काठमाडौं, ३० माघ- ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्दार गरिएको छ।
राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकप्टरमार्फत् ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकप्टरबाट शनिबार उद्दार गरेर विराटनगर लगिएको हो।
लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत् उद्दार गरिएको सिरिजङ्घा-५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए।
बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्दारका लागि हेलिकप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए।
हेलिकप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिए।
FACEBOOK COMMENTS