काठमाडौं- माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको ३ वर्ष भित्रै नाफामा जाने भएको छ ।
साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको आव्हानपत्रमा आगामी आर्थिक वर्ष ०७६ ०७७ देखि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले नाफा कमाउन थाल्ने भएको हो । सो वर्ष कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ ।
आयोजना सञ्चालन भएको साढे ९ वर्षभित्र कर्जा चुक्ता गर्नेछ ।
आगामी ०७५ बैशाखदेखि तामाकोसी आयोजनाबाट बिजुली उत्पादन हुने कार्यतालिका तयार पारिएको छ ।
आउदो ४ वर्षदेखि माथिल्लो तामाकोसीले बिजुली बिक्रीबाट वार्षिक १० अर्ब ११ करोड २३ लाख रुपैयाँ आम्दानी गर्नेछ ।
४५६ मेगावाट क्षमताको यो आयोजना निर्माण अवधिको ब्याज (आइडीसी) बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकोमा डलर महंगो भएको, भूकम्प र नाकावन्दीले समय थप हुदा संशोधित अनुमान लागत बढेर ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
आयोजनाको लागत ७ अर्ब ६६ करोड रुपैयाँ थप हुने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले ऋणप्रदायक कर्मचारी संचय कोषलगायतसंग छलफल गरिरहेको जानकारी दिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आईडीसी बाहेक निर्माण अवधिको ब्याज बाहेक प्रतिमेगावाट १० करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने छ । आयोजनाको बिजुलीको मूल्य प्रतियुनिट औसत ५ रुपैयाँ ३० पैसासम्म पुग्ने छ ।
आयोजनाको ९६ प्रतिशत काम सकिएको छ । आईपीओबाट संकलन भएको रकम आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन विस्तारमा लगानी हुने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS