काठमाडौं, चैत १० – तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर सिटिजन्स बैंकले चैत १४ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ।नेपाल राष्ट्र बैंकले हिजो सोमबार एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएपछि दुबै संस्था एक भएर १४ गतेबाट कारोबार गर्ने भएका हुन्। प्राप्तिपछि नाम सिटिजन्स बैंक इन्टरनेशनल नै हुने छ।दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए।
सिटिजन्सले तिनाउलाई प्रति कित्ता १०० बराबर ९६ कित्ताका दरमा बिलय गरेको हो।सिटिजन्स बैंकले बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्दैछ। यी दुवै संस्थाबीच समझदारी भए पनि एकीकृत कारोबारका लागि अझै केही प्रक्रिया पूरा गर्न बाँकी छ।
तिनाउसँग एकीकरण गर्न तथ्यांक सिटिजन्स बैंकको प्रणालीमा सार्नुपर्ने भएकाले १३ गते ३ बजेपछि दुवै संस्थाको सेवा प्रभावित हुने भएको छ। १४ गते बिहानसम्म बैंकिङ सेवा, एटीएम, कार्ड सेवा, मोबाइल तथा अनलाइन बैंकिङ सेवा नचल्ने सिटिजन्सले जनाएको छ।