काठमाडौं । ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो–२०८२’ आयोजना गरेको छ ।
तिहार पर्वलाई लक्षित गरी संघले भृकुटीमण्डपमा फ्लोरा एक्स्पो आयोजना गरेको हो । नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुरू भएको यो एक्स्पोमा अवलोकनकर्ताहरूले एकै स्थानमा पुष्प, फलफूल, जडिबुटी र कृषिसहितका चारवटा विधाका नर्सरी किन्न तथा अवलोकन गर्न सक्ने छन् ।
एक्स्पोमा जैविक मल तथा बगैँचा सजावटसम्बन्धी सामग्रीको प्रदर्शनी गरिएका छन् । साथै, अवलोकनकर्ताहरूले फूल स्याहार–सुसारसम्बन्धी विज्ञहरूसँग परामर्श पनि लिन पाउने छन् ।
स्वदेशी फूल उत्पादन, नर्सरी व्यवसायलाई प्रोत्साहन गर्ने, साथै तिहारमा स्वदेशी फूल प्रयोग गर्न सर्वसाधारणलाई उत्प्रेरित गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएको नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजी तिमल्सिनाले बताए ।
‘तिहार भनेको फूलैफूलको पर्व हो,’ अध्यक्ष तिमल्सिनाले भने, ‘व्यवसायीहरूले फूल धेरै उत्पादन गरिरहनुभएको छ । जेन्जी आन्दोलनले गर्दा दसैँमा फूलहरू बिक्न सकेनन् । त्यसैले एकै स्थानमा व्यवसायीलाई फूल बेच्न तथा ग्राहकलाई पनि विभिन्न थरीका फूलहरू एकै स्थानमा किन्न सहज होस् भन्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरेका हौँ ।’ एक्स्पोले पर्यावरणीय चेतना र हरित अर्थतन्त्रको सन्देश फैलाउने अपेक्षा उनको छ ।
आज दोस्रो दिन एक्स्पो अवलोकन गर्ने अवलोकनकर्ताको भिड लागेको थियो । हरेक वर्ष आयोजना हुने यस एक्स्पोले नर्सरी व्यवसायलाई सहयोग हुने र एकै ठाँउमा सबै प्रकारका विरुवाहरू पाइने भएकाले ग्राहकलाई पनि सहज हुने नर्सरी व्यवसायी अनिल तामाङले बताए । साथै एक्स्पो सुरू भएको दुई दिनमा राम्रो व्यापार भएको पनि उनले सुनाए ।
त्यस्त, फ्लोरा एक्स्पो अवलोकन गर्न गएका अवलोकनकर्ता गणेश सापकोटाले आफू पुष्प पारखी भएकाले एकै स्थानमा धेरै थरीको विरुवा अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गरे । यस्तो एक्स्पोहरू वर्षको दुई पटकसम्म हुनुपर्ने उनको विचार छ ।
तिहार फ्लोरा एक्स्पोमा ६२ वटा नर्सरीको स्टलहरू रहेका छन् । जहाँ अवलोकनकर्ताहरूले सयपत्री फूल, गोदावरी फूल, लालीगुँरास फूल, इनडोर तथा आउटडोर प्लान्ट गरी ७०० भन्दा बढी प्रकारका फूल तथा विरुवाहरू अवलोकन गर्न र किन्न पाइन्छ ।
एक्स्पोमा २५ रूपैयाँ देखि एक लाख ५० हजार रुपैयाँसम्मका विरुवाहरू उपलब्ध रहेको सङ्घले जनाएको छ । एक्स्पोमा अहिले विशेषगरी उपत्यकाका नर्सरी व्यवसायीको स्टल रहेको छ भने इलाम र काभ्रेका नर्सरी व्यवसायी पनि सहभागी भएका छन् ।
मंगलबार (असोज २८ गते) देखि सुरू भएको एक्स्पो आगामी कात्तिक १ (शनिबार) सम्म सञ्चालन हुने छ । पाँच दिनसम्म सञ्चालन हुने फ्लोरा एक्स्पोमा ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा संघले गरेको छ ।
FACEBOOK COMMENTS