काठमाडौं, माघ १७- कोभिड-१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागीता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। खोप अभियान सुरू भएको तीन दिनमा ४६ हजारभन्दा बढी फ्रन्टलाइनरले कोभिशिल्ड खोप लगाएका छन्।
मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर ४६ हजार एक सय ९७ जना फ्रन्टलाइनरले खोप लगाएका छन्। ७७ वटै जिल्लाका एक सय ९६ खोप केन्द्रमार्फत् खोप अभियान चलिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए। सबैभन्दा धेरै बागमती प्रदेशबाट १५ हजार छ सय ४१ जनाले खोप लगाएका छन्।
त्यसैगरी प्रदेश १ बाट सात हजार तीन सय ६९ जनाले खोप लगाएका छन्। प्रदेश २ बाट चार हजार छ सय ५०, गण्डकी प्रदेशबाट सात हजार एक सय ५३, लुम्बिनी प्रदेशबाट चार हजार छ सय ३५, कर्णाली प्रदेशबाट दुई हजार नौ सय ६६ जना र सुदूरपश्चिम प्रदेशबाट तीन हजार सात सय ८३ जनाले कोरोना भाइरसविरुद्धको लगाएका छन्।
१० दिनभित्रमा सबै फ्रन्टलाइनरलाई खोप लगाइसक्ने सरकारको तयारी छ। मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिइनेछ। अहिले स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई खोप लगाउन थालिएको छ।
त्यस्तै वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू पनि खोपको प्राथमिकतामा छन्। खोप अभियानको पहिलो दिन ११ हजार ८४ जनाले खोप लगाएका थिए। दोस्रो दिन १८ हजार सात सय ३२ जनाले खोप लगाएका थिए।
FACEBOOK COMMENTS