काठमाण्डौँ – निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनका लागि तार तान्ने काम सुरु भएको छ ।
नुवाकोटको लिखुगाउँपालिका ३ सूर्यमतीदेखि चतुराले र धादिङको छत्रेदेउरालीमा ४र५ किमि क्षेत्रमा तार तान्ने काम भइरहेको त्रिशूली ३ ए का आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए ।
त्यस क्षेत्रमा पर्ने १७ वटा खम्बामा काम अघि बढाएको आयोजनाले जनाएको छ ।
आयोजनाले पहिलो चरणमा कात्तिक दोस्रो सातादेखि विद्युतीय तार विस्तारको कार्य थालेको हो ।
ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) का चिनियाँ प्राविधिकहरूले कार्यक्षेत्रमा काम गरिरहेको आयोजनाले जनाएको छ ।
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए आयोजनाले आगामी २०१९ फेब्रुअरी ९ मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन परीक्षण गर्ने जनाएको छ ।
यसैबीच मङ्गलबारदेखि सुरु गरिएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा ५ दिन दिनभर विद्युत कटौती हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार त्रिशूली–काठमाडौं प्रसारण लाइनको विद्युतीय तार विस्तारका लागि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो।
FACEBOOK COMMENTS