एजेन्सी – चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईले दक्षिणपूर्वी एशियाली मुलुकहरुमा तिब्र गतिको ५जी पूर्वाधार विस्तार गर्ने भएको छ । सो क्षेत्रमा पाँचौं पुस्ताको इन्टरनेट सेवा (५जी) पूर्वाधार विस्तार गर्न आफू तयार रहेको आइतवार कम्पनीले बताएको हो ।
हुवावेईको उपकरणहरुमार्पmत चीन सरकारले अन्य देशको जासूसी गरिरहेको हुन सक्ने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै कम्पनीले यो योजना अघि सारेको हो । अमेरिका–चीनबीच व्यापार युद्ध चलिरहँदा यी देशहरुले एक अर्काको देशबाट आयातित खर्बौ डलर बराबरको समानमा कर बढाएका छन् । यसको चपेटामा हुवावेई पनि परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हुवावेईलाई प्रविधि बेच्न अमेरिकी कम्पनीहरुलाई प्रतिबन्ध पनि लगाइसकेको छ । तर हुवावेईले भने यो आरोपको बारम्बार खण्डन गर्दै आफू अमेरिकी इश्र्याको मारमा परेको बताउँदै आएको छ ।
साइबर सुरक्षा सम्बन्धी चेतावनीको वेवास्ता गर्दै थाइल्यान्ड र फिलिपिन्सले भने हुवावेईका ५जी प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । ‘चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ केही प्रकारको प्रविधि युद्ध पनि छ । अहिले ध्यान जति हुवावेईमाथि छ,’ हुवावेईका उपाध्यक्ष एडवार्ड चाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने । आसियानलाई ५जीको विकासमा सघाउन आफूहरु सो सम्मेलनमा आएको उनको भनाइ छ । १० देश संलग्न आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यहाँको व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने बताइएको छ ।
थाइल्यान्डले हुवावेईलाई सेवा सञ्चालनको अनुमति दिइसकेको छ । राजधानी बैंकक नजिक रहेको एक विश्वविद्यालयमा परीक्षण केन्द्र शुरु गर्ने अनुमति हुवावेईले पाइसकेको छ । सो परीक्षणमा आफूले ५ अर्ब डलर खर्चेको र दक्षिणपूर्वी एशियाका अन्य केही बजारमा पनि यस्तै खालको परीक्षणको लागि कम्पनीले निम्तो पाएको हुवावेईका प्रवक्ताले बताएका छन् । फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेईको प्रविधि प्रयोग गरी आउँदो गर्मीयाममा ५जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
तर यहाँका सबै देशहरु हुवावेईको ५जी प्रविधि प्रयोग गर्न इच्छुक छैनन् । यस मामिलामा भियतनाम भने अमेरिकाकै पक्षमा छ । हुवावेईको सट्टामा उसले यसको प्रतिद्वन्द्वी कम्पनीहरु एरिक्सन र नोकियाको ५जी प्रयोग गर्न चासो देखाएको छ । भियतनामको सेनाको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी भेइट्टेलले हानोई र हो चि मिन्ह शहरमा ५जी सेवा ल्याउने योजना बनाएको बताइएको छ । तर सुरक्षासम्बन्धी चिन्ताका कारण यसले हुवावेईका उपकरण भने प्रयोग नगर्ने बताएको छ ।
FACEBOOK COMMENTS