काठमाडौं, चैत १२ – दर्तै नभएका अनलाइन फार्मेसी मार्फत उपभोक्तालाई भ्रम छरेर प्रचारसहित बिक्री गरिरहेको भन्दै औषधि व्यवस्था विभागले अनलाइन फार्मेसीलाई तत्काल सेवा बन्द गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागले अनुमतिविनै ‘अनलाइन फार्मेसी’को नाममा विभीन्न छुट सुविधा सहित औषधि बिक्री गरिरहेको पाइएपछि रोक लागएको हो।
पछिल्दो समय अनुमति नलिइकनै अनलाइन मार्फत ग्राहकलाई विभीन्न प्रलोभनमा पारी भइरहेको औषधि विक्रीवितरणलाई नियन्त्रण गर्नका लागि यो निर्णय गरेको विभागले जनाएको छ। विभागले अनुमति नलिइ अनलाइनमार्फत औषधि बिकी वितरण गरेको पाइएको अवस्थामा नियम अनुसार कारवाही गर्ने जनाएको छ।
विभागले सामाजिक संजाल र पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम विभागबाट पूर्व अनुमति अनिवार्य लिन पर्ने जनाएको छ। ऐनको बर्खिलाफ हुन नदिन अर्को व्यवस्था नहुन्जेल भ्रम पूर्ण प्रचार सामाग्री सहितका अनलाइन फार्मेसीसँग सम्बन्धित सबै कामहरु तत्काल बन्द गराउन निर्देशन समेत बिभागले दिएको छ।
विभागले उपभोक्ता स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र प्रयोग नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ। ‘अनलाइन फार्मेसीबाट खरिद गरेको औषधिहरुको सुरक्षितता, गुणस्तरियता, प्रभावकारीताका सम्बन्धमा सम्बन्धित उपभोक्ता आफै जिम्मेवार हुनुपर्ने भएकाले अनलाइन फार्मेसीबाट औषधि खरिद गरी प्रयोग नगर्न र नगराउन सर्वसाधरण र बिरामीलाई अनुरोध छ।’ विभागले जारी गरेको सुचनामा भनिएको छ।
FACEBOOK COMMENTS