काठमाडौं, असोज २० – मैतीदेवीमा कपडाको व्यापार गर्दै आएका धादिङका पशुपति दाहाललाई अघिल्ला वर्षहरुको दशैंमा भ्याइनभ्याई हुन्थ्यो । उनी यतिबेला पसलमा सामान ओसार पसार गर्न र ग्राहकलाई लुगा/कपडा बिक्री गर्न ब्यस्त हुन्थे । उनलाई दशैं आउन एक महिना अगाडि खाना खान पनि समय हुन्थेन ।
बिहानै खोलेको पसल राति अबेरसम्म खुला नै राख्नु पर्थ्यो । पसलमा सामान किन्ने ग्राहकको बाक्लो भिड लाग्थ्यो । ग्राहकले पनि छानी–छानी लुगा किनेर लैजान्थे । उनको पसलमा खुट्टा टेक्ने खाली ठाउँ हुन्थेन भने सामानले पसल भरिभराउ हुन्थ्यो ।
तर, यसपालि पशुपति न त्यति धेरै व्यस्त छन् न उनको पसलमा धेरै सामान छ नत ग्राहकको नै भिड छ । अहिले उनी पसल खुला नै राखेर सँगै रहेको पसलवालासँग लुडो खेल्न नै व्यस्त हुन्छ । दशैं नजिकिँर्दै गएपनि उनको पसलमा दैनिक दुई चार जना मात्र ग्राहक आउँछन् त्यसमा पनि धेरै सामामन मन नपराएर फर्कन्छन् ।
उनी भन्छन्, ‘अहिले ग्राहकलाई न सामान राज्ने विकल्प छ, सकभर ग्राहक नै आउँदैनन् आएपनि सामान मन नपराएर फर्कछन्, दिनभरी पसल खुला राखेर कहिल्यै न एक रुपैयाँ कारोबार नगरेर फर्किनु पर्छ ।’
उनले अहिले सामानको पनि अभाव हरेको बताए । १० महिनादेखि रसुवागढी नाकामा सामान रोकिएकोले पनि व्यापारीले सामान ल्याउन नसकिएको बताए । उनले अब सामान आउन सुरु गरेपनि धेरै महँगो भएर आएको बताए ।
‘अहिले गत वर्षको भन्दा सामान ३० प्रतिशतभन्दा बढी महँगो भएको छ, जसरी सामान महँगिएर आयो, हामीले पनि त्यसरी नै बेच्चु पर्ने हुन्छ, अब सामान आउन सुरु गरेको छ, फेरि महँगो पर्छ,’ उनले भने ।
यस्तै, मैतिदेवीमै विगत ३ वर्षएदेखि कपडाको व्यापार गर्दै आएकी पोखराकी दुर्गा खनाल पनि अहिले ग्राहक नआएर हैरान छन् । उनले पनि गत वर्षको भन्दा सामान ६/७ सय रुपैयाँ बढेको बताइन् । गत वर्ष २ हजार पर्ने कपडाको मूल्य अहिले २७ सयभन्दा बढी पर्ने उनले बताइन् ।
‘अहिले सामानको अभावले पनि हुन सक्छ, चीनबाट नै सामान महँगिएर आउन थालेको छ, भन्सारमा पनि पहिलेको भन्दा बढी धेरै तिर्नु पर्ने हुन्छ, कर बढेको कारण पनि समानको मूल्य बढेको हुन सक्छ,’ उनले भनिन् ।
उनले पनि अहिले ग्राहक नै नआउने गरेको बताइन् । ग्राहकले पनि नयाँ फेसनका सामान पनि नपाएको उनले बताइन् । उनले अघिल्ला वर्षहरुको दशैंमा दैनिक लाखौं कारोबार हुने भएको भएपनि अहिले दैनिक ५/१० हजार मात्र कारोबार हुने उनले बताइन् ।
FACEBOOK COMMENTS