काठमाडौं । नेपाल फर्मा एक्स्पोको दशौँ संस्करण भोलिदेखि भृकुटीमण्डपमा सुरू हुने भएको छ ।
नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्यसहित नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो ।
एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहने छन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन प्रमुख रूपमा रहने छन् ।
यस एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदर्शित वस्तु तथा सेवाले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्ने विश्वास गरिएको छ ।
बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिने छ । यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो पनि भएको अध्यक्ष अधिकारीको भनाइ छ । ‘हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन् । आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ,’ उनले भने ।

एक्स्पोमार्फत सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउने उद्देश्य रहेको संघका महासचिव सन्तोष बरालले बताए । उनका अनुसार औषधि क्षेत्रको ज्ञान लिन चाहने जो–कोहीका लागि प्रवेश नि:शुल्क गरिएको छ ।

यस पटकको एक्स्पोलाई संघले छुट्टै उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व–कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको एक्सपोका मिडिया को–अर्डिनेटर शैलेश वैद्यले जानकारी दिए ।

उनका अनुसार प्राविधिक पक्षलाई अझ सुदृढ बनाउन एक्स्पोको एक दिन अगाडि आज नेपाली औषधि उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्राविधिकहरूले गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गरिएको छ ।

एक्स्पोको उद्घाटनको दिन भोलि बिहान ८ बजे भव्य प्रभातफेरि गरी कार्यक्रमको औपचारिक सुरुवात गर्ने तयारी छ । एक्स्पो आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
FACEBOOK COMMENTS