काठमाडौं, असोज २७ – दसैंको मुखमा असन, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ठमेललगायत काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ८० प्रतिशतले गिरावट आएको व्यवसायी बताउँछन् ।
दसैं लक्षित व्यापारमा गिरावट आउँदा साना व्यवसायीहरू मारमा परेका छन् । लामो समयदेखि कोरोना महामारीको चपेटामा परेका व्यवसायी व्यापारमा मन्दी आउँदा झनै मारमा परेका हुन् ।
लत्ताकपडा, विद्युतीय सामानलगायत खाद्यान्न पसलहरूमा समेत यस वर्ष उत्साहजनक व्यापार भएको छैन । लामो समयको बन्दाबन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा खस्कनु र उपत्यकामा बढ्दो संक्रमण त्रासले दसैं लक्षित व्यापार निराशाजनक देखिएको हो ।
चाडपर्वलाई लक्षित गर्दै सामान किन्न काठमाडौं आउने उपत्यकाबाहिरका व्यापारीसमेत महामारीको प्रभाका कारण उपत्यका प्रवेश गर्न नसक्दा चाडपर्व लक्षित व्यापारमा ठूलो गिरावट आएको व्यवसायीहरूले बताउँदै आएका छन् ।
न्युरोड वरपरका व्यवसाय चलाइरहेका व्यापारीहरूका अनुसार हाल लत्ताकपडाको व्यापार करिब ८० प्रतिशतले खुम्चिएको छ । त्यसैगरी उपभोक्ताको क्रयशक्ति घट्दा खाद्यान्नको व्यापार पनि राम्रो हुन नसकेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS