काठमाडौं, मंसिर ८ – दाङका दस वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आइतबार बेलुका कार्यालयमा पत्रकार सम्मेलन गरी अनुमति नलिई सञ्चालन गरिएका दस वटा क्रसर उद्योगलाई १५ दिनमा बन्द गर्न निर्देशन दिएका हुन्।
‘बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गरिरहेका दस उद्योगको अनुमति एउटा र काम अर्कै गरिरहेको पाइएको हुँदा बन्द गर्न निर्देशन गरिएको हो,’ प्रजिअ आचार्यले भने, ‘व्यवसायीको सल्लाहामा व्यवस्थापनका लागि १५ दिनको म्याद दिइएको हो।’
प्रजिअ आचार्यका अनुसार तुलसीपुर बिजौरीस्थित स्वर्गद्वारी स्क्रिन प्लान्ट, बिजौरीकै जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरकै गणेश बालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, तुलसीपुरकै मंगलम् बालुवा प्रशोधन उद्योग, लमहीको सतवरीयास्थित बगारवावा बालुवा प्रशोधन उद्योग, लमहीकै पाण्डवेश्वर बालुवा वासिङ उद्योग, लमही सतवरीयाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवाको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग, पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग, बबईस्थित वासिङ उद्योगलाई क्रसरको काम बन्द गर्न निर्देशन दिइएको हो।