काठमाडौं,मंसिर २८- देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहर चलेको छ ।
अहिले देशको मध्य र पश्चिमी क्षेत्रका पहाडी भूभाग र पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ । मध्य र पूर्वका एकरदुई ठाउँमा आज हल्का पानी र उच्च हिमाली तथा पहाडी भेगमा भोलि आइतबारसम्म नै हिउँ पर्ने मौसमविदले जनाएका छन् । आजदिनभर मध्य र पश्चिमी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
काठमाडौँ उपत्यकामा ३२.४ मिलिमिटर पानी परेको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् । बुधबार अधिकतम तापक्रम ११ डिग्री सेल्सियस मात्रै पुगेकाले काठमाडौँमा निकै जाडो भएको थियो । तर शनिबार अधिकतम तापक्रम बढ्ने अनुमान छ । शनिबार बिहान ७.४ डिग्री रहेको काठमाडौँको तापक्रम दिउँसो १७ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।
उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ । पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।
FACEBOOK COMMENTS