काठमाडौं,मंसिर २२ – काठमाडौंको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काइ वाक टावर’ निर्माण हुने भएको छ । सो टावर कुल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो ।
शनिबार आयोजित एक कार्यक्रमका बीच टावरको शिलान्यास उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई संयुक्तरुपमा गरेका हुन्।
आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण हुने यस टावर जमिनबाट कुल ७८ मिटर माथिको उचाइमा बन्ने छ ।वन्डरर्स नेपाल प्रालिले निर्माण गर्न लागेको उक्त टावर १३.२ रोपनी जग्गामा फैलिएको हुनेछ ।
बाहिरबाट हेर्दा पूरा सिसैसिसाले बनेको जस्तो देखिने यस आकर्षक टावरमा हाल देखिएको जमिनको सतहबाट ६८ मिटरमाथि उचाइमा पुगेपछि सय जनालाई एकैपटक खाना खुवाउन मिल्ने रेस्टुरेन्ट र सभा हल हुनेछ । टावरको सबभन्दा टपमा स्काई वाक हुनेछ। उक्त टावर चढ्नको लागि सर्वसाधारणले निश्चित रकम तिर्नुपर्ने जनाइएको छ ।
उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ताहरु रहेका छन्। टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ। टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।
FACEBOOK COMMENTS