काठमाडौं, माघ १९ – दृष्टिविहीन अमिट केसीले आगामी चैत २८ गते सगरमाथा आरोहण गर्ने भएका छन्। स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन्।
आइतबार राजधानीमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ गर्दै उनले यस्तो जानकारी दिएको हुन्।
कार्यक्रममा बागलुङका पूर्व सिडिओ कैलाशनाथ खरेल, समाजसेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्ष काशिलाल श्रेष्ठ सहभागी थिए।
उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामना दिए। कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए। ‘मैले त्यतिबेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु भनेको थिएँ। मैले त्यतिवेला पनि पूनः आउने भनेको थिएँ। अहिले सगरमाथा चढ्ने तयारी पूरा भयो। मानसिक रुपमा तयारी अवस्थामा भए पनि आर्थिक अभावको कारणले यो अभियान संकटमा छ’, उनले भने।
उनले यो अभियान सफल पार्न आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रहसमेत गरेका छन्।
FACEBOOK COMMENTS