नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा(ओली भेटमा देउवाले राखेका कुराबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटका क्रममा देउवाले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएकोमा धन्यवाद दिए।
‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,’ देउवाले भने,‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ।’
यसअघि बुधबार राति पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादवलाई अपहरण शैलीमा जनकपुरबाट ल्याएर काठमाडौंको होटलमा पुर्याएका थिए।
पूर्वआइजिपी र सत्तारूढ दलकै सांसदले अपहरणको शैलीमा मान्छे ल्याएको भन्दै उनीहरूको भूमिकाको आलोचना भइरहेको छ।
ओलीसँगको छलफलका क्रममा देउवाले कोरोनाभाइरसका संक्रमण रोकथाम गर्न व्यापक परीक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं। स्वास्थकर्मीहरूलाई पिपिईलगायत सामग्री अझै पर्याप्त पुगेको छैन। यथाशिघ्र पुर्याउनु पर्यो,’ देउवाले भने,‘स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ।’
देउवाले लकडाउनमा अप्ठेरोमा परेका श्रमिकलाई कि यतै खान दिनुपर्ने नभए गाउँ जान दिनुपर्ने बताए। ‘राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन। श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्,’ देउवाले भने।
देउवाले विदेशमा रहेका नेपालीलाई उद्दार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्न र कार्यान्वयन थाल्न पनि माग गरे।
देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवादका कुनै कुरा नल्याउन पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
FACEBOOK COMMENTS