काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिसंग गरेको छलफलमा सभापति देउवाले ओलीले धम्क्याएर कोही नतर्सिने बताए ।
‘ओलीजीले धम्क्याउने र तर्साउने काम सुरु गर्नुभएको छ । उहाँसंग को डराउँछ र ? पञ्चायतसंग,राजासंग लडेको मान्छेहरु ओलीसंग कहाँ डराउँछ र ?’, देउवाले भने ।
संविधानको धारा ७६ (५) ले बहुमतको आधार प्रस्तुत गर्ने सांसद सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउनैपर्ने व्यवस्था रहेको भन्दै देउवाले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले प्रधानमन्त्री नबनाउनु गलत भएको बताए ।‘दलको कार्यकर्ताजस्तो भएर राष्ट्रपतिले संविधान उल्लघंन गर्नुभएको छ । संसद विघटन नहोस् भनेर सांसदलाई दिएको अधिकार हनन गरिएको छ । आशा छ सर्वोच्च अदालतले संविधान बमोजिम न्याय दिनेछ’, देउवाले भने ।
अदालत र न्यायाधीशले प्रधानमन्त्रीको धम्कीबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै देउवाले संविधानसम्मत निकास आउने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS