काठमाडौं, २४ माघ – शनिबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजीना शाक्यका अनुसार अहिलेसमेत सामान्य वर्षा भइरहेको उपत्यकामा अझै केहीसमय पानी पर्ने सम्भावना रहेको छ ।
मौसमविद् शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार देशभर हल्का वर्षा भएको हो । शनिबार बाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश १ मा पानी परेको हो । अन्य प्रदेशका केही ठाउँमासमेत पानी परेको छ भने बागमती प्रदेशमा अहिलेसमेत पानी परिरहेको छ।
देशभर हल्का पानी परेसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पहाडी क्षेत्रमा सामान्य हिमपात भएको हो भने हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकामासेत सामान्य हिमपात भएको छ । काठमाडौंसँगै चन्द्रागिरी डाँडामा हिउँ परेको छ।
शनिबार दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली हुँदा बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य वर्षा भएको हो। शनिबार रातिसमेत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरिएको छ ।
FACEBOOK COMMENTS