काठमाडौं , माघ २३ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले हाम्रो काम देश विकास गर्ने हो नाटक गर्ने होइन भनेका छन् ।
नेकपा ओली पक्षले आयोजना गरेको बृहत जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले देश विकास हुन नदिन अहिले षड्यन्त्र भइरहेको भन्दै देशमा विकासका कैयौं काम भइरहेको बताए ।
उनले आजको यो सभापछि सक्कली र नक्कली पार्टी कुन हो भन्ने भनिरहन नपर्ने बताए । ओलीले यो सभालाई असफल बनाउन विहिबार बन्द गरिएको आरोप लगाउदै बन्दका क्रममा भएका तोडफोडको क्षतिपुर्ति सरकारले दिने बताए ।
प्रधानमन्त्री ओलीले जनतालाई हेर्ने सरकार भएको बताउदै जनतालाई ढुक्क हुन आग्रह गरे । हिजो बन्द गरेर तर्साउन खोजेको भन्दै आजपनि कतिपय ठाउमा बम राखेर विप्लव लेख्ने काम भएको ओलीले बताए ।
प्रधानमन्त्री ओलीले यसअघि उत्तरतर्फको नाका खोल्दा प्रधानमन्त्रीबाट हटाइयो, यसपटक नक्शा जारी गरेपछि विवाद झिकिएको बताए । आफुलाई तीन बर्ष काम गर्न नदिएको बताउदै प्रधानमन्त्री ओलीले दुई चार जनाले छोडेर गएपछि अहिले आएर संबैधानिक आयोगले पूर्णता पाएको बताए । अहिले आयोग बनेकोमा एक समुहलाई ठुलो पिर परेको बताउदै प्रधानमन्त्री ओलीले आयोग बनेको अर्को दिन नेपाल बन्द गरिएको बताए ।
प्रधानमन्त्री ओलीले अस्थिरता तर्फ जाने की चुनावतर्फ जाने भन्दै प्रश्न गरेका थिए । उनले अब चुनावतर्फ जानुपर्ने बताए । देश चुनावतर्फ गयो गयो भन्दै प्रधानमन्त्री ओलीले चुनावले नै सबैकुराको फैसला गर्ने बताए । उनले लोकतन्त्रप्रति कसले पनि कर्के आँखा नलगाए हुन्छ भन्दै देश अब अघि बढेको बताए ।
FACEBOOK COMMENTS