काठमाण्डौँ — बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने जग्गालाई सुरक्षित राख्न तारबार गर्ने ठेक्का पाएको निर्माण कम्पनीले बदमासी गरेको पाइएको छ।
टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी र निजी जग्गा सुरक्षित राख्न पहिलो चरणमा तारबारले घेराउ गर्न लागिएको हो।
तारबार घेराउ गर्न ठेक्का लिएको कम्पनीले बढी नाफा लिन कमसल सामग्री प्रयोग गरेको र तारका लागि गाडिने पिलरको जग तोकिएभन्दा कम ढलान गरेको भेटिएपछि कारबाहीमा परेको छ।
विमानस्थलले ओगट्ने जग्गाको दक्षिणतिर पर्ने पसाह खोलादेखि बालगंगा खोलासम्म १४ किलोमिटरमा एएलजे निर्माण सेवाले तारबार गर्ने जिम्मा पाएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइ कार्यालय सिमराले जनाएको छ।
कम्पनीले सम्झौताअनुसार काम नगरेको कार्यालयका निर्देशक ओम शर्माले बताए।

प्रत्येक २.५ मिटर दुरीमा आठ फिट उचाइको सिमेन्ट पिलर गाड्नुपर्ने र जमिनमा गाडिने पिलरमा ढुंगाको सोलिङ र ढलान २.५ फिटसम्म गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि सो अनुसार काम नगरेको पाइएको शर्माले बताए।

— नागरीक