धादिङ, असोज २३ – धादिङका गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि अवैध तरिकाले बालुवा निकालिरहेको भेटिए पछि जनप्रतिनिधिले त्यसलाई रोक्न भनेका थिए । तर भण्डारीले जन प्रतिनिधीलाई नै धम्क्याए पछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए । राधेले कुनै बेला चरी समूहका आयुप तामाङको हात काटेको थिए । यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
FACEBOOK COMMENTS