काठमाण्डौ – धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने माग राखी सेयर ब्रोकरहरु आन्दोलनमा उत्रिने भएका छन् ।
ब्रोकरहरुको संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न चरणका आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।
धितोपत्र बजारको विकास, बिस्तार र सुदृढीकरणका लागि गरिनुपर्ने कामहरुको विवरण मागपत्रको रुपमा धितोपत्र बोर्डमा बुझाउने र त्यसपछि विभिन्न चरणका आन्दोलन सुरु गर्ने बताएको छ ।
ब्रोकरहरुले सुरुमा प्रचारात्मक, त्यसपछि दवाबमूलक र त्यतिञ्जेलसम्म पनि माग पूरा नभए कठोर आन्दोलन थाल्ने विज्ञप्तिमा बताइएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले ७ फागुनमा अर्थसमितिमा ब्रोकरहरुविरुद्ध अभिव्यक्ति दिएको भन्दै स्टक ब्रोकर एशोसिएसनले यसअघि नै आपत्ति जनाइसकेको छ ।
एशोसिएसनको आपत्तिपछि बोर्डका अध्यक्ष डा. कार्कीले १० फागुनमा ब्रोकरहरुलाई बोलाएर छलफल गरेका थिए ।
FACEBOOK COMMENTS