काठमाडौं । ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्हस् पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।
एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै जलिसकेछ, विजुलीले हो कि भनेर मेन स्वीच बन्द गर्न गएँ ।’
उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्यास सिलिण्डर विष्फोट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो ।
ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सिलिण्डर विष्फोट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’ प्रहरीका अनुसार छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेको देखिएको छ, उनीहरु पनि घाइते छन् ।
‘केही चाहिँ हाम फाल्न नसकेको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् ।
FACEBOOK COMMENTS