काठमाडौ । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ ।
धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११ वटा परामर्शदाता कम्पनीमध्ये छ वटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा समावेश गरेको जानकारी दिए । चीनका क्यापिटल इन्जिनियरिङ एन्ड रिसर्च इनकर्पोरेसन र सान्डोङ जियो–सर्भिसिङ एन्ड म्यापिङ इन्स्टिच्युट, दक्षिण अफ्रिकाको फ्लुरसा लिमिटेड, अस्ट्रियाको हन्सबे सिन्गर कन्सल्टेन्सी-एक्सक्लुटिभ कन्सल्टिङ इन्जिनियरिङ एन्ड प्लानर प्रालि (जेभी) तथा भारतको एमएन डस्टर एन्ड कम्पनी-माइनिङ सर्भिस इन्डिया (जेभी) र मेकन लिमिटेड छनोट भएको चन्दले जानकारी दिए । अबको तीन महिनाभित्र छनोट भएका कम्पनीसँग सम्झौता भई काम अगाडि बढ्ने चन्दले बताए ।
पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलो मिटरउत्तरमा रहेको नवलपुर जिल्लाको होप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखि धौवादीसम्म करिब १६० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानी रहेको अध्ययनले देखाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS