काठमाडौं, जेठ १२ – भक्तपुरको नगरकोटस्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको शुरुवाती दिनदेखिकै साक्षीका रुपमा रहेको यो होटेल ‘एस होटेल समूह’ले सञ्चालन गर्दै आएको छ ।
सामान्यतः नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ । यी दुई नाम त्यहाँका लागि पर्याय नै भइसकेको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमा समेत मुख्य भूमिका क्लब हिमालयको रहेको छ । होटेल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, ‘भोलि यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोटमै बस्ने गरी आउने र साइट सिइङका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएकोछ ।’
शाक्यको सम्झनामा सन् १९६०–७० मा अधिकांश हिप्पीहरु सूर्योदय हेर्नकै लागि अघिल्लो दिन नै टेन्ट, ह्यासिस (गाँजा) लिएर अनकंटार र नांगेडाँडा ‘बतासेडाँडा’ पुग्ने गर्दथे । रातभर गीत गाउँदै, नाच्दै समय कटाइसकेपछि उनीहरु बिहान सूर्योदयको दृश्यावलोकन गर्थे ।
काठमाडौंको द रोयल होटेल, सोल्टी, अन्नपूर्ण लगायतका होटलमा बस्ने पर्यटकहरू बिहान ३ बजे गाडीमार्फत डेढ घण्टाको कच्ची बाटो हुँदै ५ बज्नु अघिनै बतासेडाँडा पुर्याइन्थ्यो । त्यतिबेला ब्रेकफास्ट बक्स समेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यता थियो ।
नगरकोट प्रतिपर्यटकको झुकाव देखेर एस होटेलले सन् १९८० मा बतासेडाँडामा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तरतत्कालीन शाही नेपाली सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासेडाँडादेखि महांकालडाँडा सुटिङ अभ्यास रेन्जका रूपमा प्रयोगका लागि लिने योजना बनाएको थियो । यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यकारूपमा विकास गर्नमात्र नभएर बतासेडाँडामा रिसोर्ट स्थापना तथा सञ्चालनमा ल्याउन सहज थिएन ।
ुनगरकोटलाई पर्यटकीय गन्तव्यमा रुपान्तरणका गर्नका लागि तात्कानीन सरकारलाई विश्वस्त पारेर सहयोग लिनका लागि धेरै मेहेनत गर्नुपरेको थियो । शाक्य सम्झन्छन्, ‘तत्कालीन श्री ५ को सरकार र शाही नेपाली सेनाले विश्वासका आधारमा क्लब हिमालय सञ्चालनका लागि म लगायत हङकङका लगानीकर्ता स्टानले केसी वङ, नेपाल माउन्टेनरिङ एशोसिएसनका तत्कालीन अध्यक्ष कुमार खड्गविक्रम शाहलाई अनुमति दिएको थियो ।’ क्लब हिमालय निर्माणका लागि विदेशी साझेदारी र दरबारका ज्वाइँसमेतको साझेदारीमा रहेकाले होटेल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ ।
होटेल निर्माणका लागि शाक्यसहितको समूहले सन् १९८८ मै जग्गा खरिद गरेका थिए । ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी ४२ हजार रुपैयाँ तिरेका थिए । शाक्य सम्झन्छन्, ‘त्यो बेला हामीले ४२ हजार प्रतिआना किन्दा त्यहाँका मान्छेहरू हामीलाई पैसा धेरै भएर यता आएछन् भन्थ्ये, किन भने त्यो बेला त्यस आसपासमा १ हजारदेखि १० हजारसम्ममा एक रोपनी जग्गा पाइन्थ्यो ।’
त्यो बेला त्यहाँ चारतारे होटल बनाउने भन्ने चानचुने चुनौती थिएन । किन भने बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुक थियो । नगरकोटका स्थानीयहरूको आयस्रोत भनेकै जंगलमा गएर दाउरा खोज्ने र भक्तपुरमा लगेर बेच्ने थियो । अहिले त्यहाँका मानिसहरूको आर्थिक अवस्था नै उथलपुथल भएको छ ।
ती चुनौतीहरूलाई पार लगाउँदै उनले होटल निर्माण गरी छाडे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो । जग्गाको मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकास पनि राम्रो भएको छ । अहिले नगरकोटमा सुविधासम्म होटेल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् । त्यहाँ अर्बौं रुपैयाँ लगानी भित्रिएको छ । एस होटल समूहद्वारा सञ्चालन तथा व्यवस्थापनका साथ अघि बढेको क्लब हिमालयलाई नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेटका रूपमा लिने गरिन्छ । ‘म अहिले पनि दाबी गर्छु कि क्बल हिमालय प्रवेश नगरेको भए नगरकोट अहिले सेनाको कब्जामै हुन्थ्यो, पर्यटकीय गन्तव्य बन्न पाउँदैन थियो,’ सञ्चालक शाक्यले भने ।
अहिले जहाँ क्लब हिमालय छ, त्यहाँ सुरुमा शाक्यको समूहले १९९३ मा टी हाउस सञ्चालनमा ल्याएका थिए । जग्गा विवादले होटल सञ्चालन गर्न तत्कालै नमिल्ने र अन्यौलता छाएपछि टी हाउसलाई पहिलो इन्ट्रीको माध्यम बनाएको थियो । जसले गर्दा नगरकोटमा जाने पर्यटकहरूलाई खाजा र खानाका लागि सहज बनाएको थियो । जग्गा खरिद गरेको करिब ६ वर्षपछि मात्र होटलको उद्घाटन गरिएको थियो । उनका दुवै साझेदारहरू भने माओवादी द्वन्द्वपछि बाहिरिसकेका छन् ।
२५ वर्ष पार गरेसँगै रिसोर्टले पर्यटकलक्षित सेवा सुविधालाई ध्यानमा राखेर आफ्नो क्षमता विस्तार गर्दै जाने योजना बनाएको यसका सञ्चालक योगेन्द्र शाक्यले बताए । क्लब हिमालयको विस्तारसँगै समग्र नगरकोटलाई नै काठमाडौं आउने पर्यटकका लागि दोस्रो विकल्पका रूपमा रुपान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर सञ्चालनमा आएको थियो । त्यतिखेर रिसोर्टको उद्घाटन तत्कालीन पर्यटनमन्त्री चक्र बास्तोलाले गरेका थिए ।
समुद्र सतहदेखि सात हजार २०० फीटको उचाईमा रहेको रिसोर्ट काठमाडौंबाट ३२ किलोमिटर दूरीमा छ ।
रिसोर्टमा स्ट्याण्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन् । रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ । हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ ।
सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो । पछि लगानी विस्तार गर्दै कोठाको संख्या थपेको उनको भनाइ छ । क्लब हिमालय नगरकोटकै हब रहन सफल भएको दाबी उनको छ । विहानी झुल्के घाम होस या हिमालय पर्वतको मनोरम दृश्य नियाल्न सकिने यस होटलमा कोरोना महामारीका बेला पनि उच्च सुरक्षा सतर्कता अपनाएर ग्राहकलाई सेवा दिइरहेको थियो ।
‘क्लब हिमालयमा सुरक्षा मापदण्ड सधैं उच्च प्राथमिकतामा रहेको छ, विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डले तोकेका दिशानिर्देशहरु सबै पालना हुने गरी सेवाहरु वृद्धि गरेका छौं,’ बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाहुनाका लागि दिनु पर्ने सुविधाहरुमा हामी कुनै कमी राख्दैनौं । पाहुनाहरुको सुविधाका लागि हामीले सेवाहरु बढाउँदै लल्कजरी भिलाज र कोठाहरु थप परिस्कृत बनाउने योजना बनाएका छौं ।’
साथै यतिखेर नगरकोटको पर्यटकीय विकास तथा विस्तारका लागि एस होटेल, सीई समूह र बैंकिङ तथा पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडेको सहकार्यमा ‘द हब नगरकोट’ नाममा मल्टिप्रोपर्टीको अवधारणामा एकीकृत पर्यटकीय आयोजना अगाडि बढाइएको छ ।
यो मेगा प्रोजेक्टका लागि यतिखेर गृहकार्य भइरहेको बताउँदै शाक्यले भने, ‘यो हबमा पसल, सिनेमा हल, होटेल तथा थुप्रै रेष्टुराँहरु लगायतका परियोजनाहरु रहने छन् । पर्यटकहरु एयरपोर्टमा ल्याण्ड हुने बित्तिकै नगरकोट जान सक्नेछन् ।’
द हब नगरकोटलाई हिमाल, पहाड, गाउँ, संस्कृति सबै कुराको एकै ठाउँमा सम्मिश्रणको झल्को दिने पर्यटकीय परियोजना बनाउने सोच छ ।
FACEBOOK COMMENTS