काठमाडौं, मंसिर १० -राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी खान र चुरोटका ठुटा फाल्न रोक लगाइएको छ । प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बसपार्कभित्र चोरी, डकैती, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरूपमा नियन्त्रण गरिएको छ । यो काममा सबैको साथ छ ।’’
सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहोर फाल्ने कार्य रोक्न फोहोर फ्याक्ने भाँडोको व्यवस्था गरिएको छ । तर पनि प्रयोगमा थप कडाइ नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहोर हुने
गरेका छन् ।
बसपार्क व्यवस्थापनको ठेक्का लिएका लोत्से बहुउद्देश्यीय प्रालिका प्रमुख इन्जिनियर दीपक कुँवरले बसपार्क व्यापार व्यवसायको हबभन्दा सर्वसाधारण यात्रुको सुविधाका लागि हुुनुपर्ने भावनामा काम भइरहेको बताउनुभयो ।
बसपार्कलाई हरियाली वातावरण मैत्री उद्यानहरू, सार्वजनिक शौचालयको सुविधायुक्त र प्रदेश अनुसार टिकट काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । लोत्सेका प्रमुख इन्जिनियर कुँवरका अनुसार, केही महिनामा नै यी सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न हुनेछन् ।
सवारी चालक, सहचालक, सञ्चालक, काउन्टरमा कार्यरत कर्मचारीको स्वास्थ्य उपचार र नियमित स्वास्थ्य जाँचका लागि चिकित्सकसहितको क्लिनिक र औषधि पसल सञ्चालनको तयारी अन्तिम चरणमा
पुगेको छ ।
सफाइको व्यवस्था हुँदै
बस पार्किङमा यात्रु बोकेर आएका सवारी साधनहरू सरसफाइ र प्राविधिक परीक्षण हुने छ । पार्किङस्थानबाट सरसफाइ तथा प्राविधिक परीक्षण गरिआएका सवारीहरू मात्र बसपार्क प्रवेश गर्न पाउने छन् । त्यस क्रममा सवारी चालकको समेत स्वास्थ्य परीक्षण गरी गन्तव्यमा निष्काशन अनुमति प्रदान गरिने छ ।
नयाँ बसपार्कबाट हाल दैनिक एक हजार बसहरू आवात जावत हुने गरेका छन् । यसका लागि पनि अलग्गै पार्किङस्थल अनिवार्य भएको छ । लोत्सेले यस विषयमा काठमाडौँ महानगरपालिकासँग छलफल भइरहेको बताएको छ । नयाँ बसपार्क लोत्सेले महानगरपालिकासँग २८ वर्षका लागि भाडामा लिएको हो । तर लोत्सेको नमुना बसपार्क बनाउने अभियानप्रति यातायात व्यवसायी भने अझै विश्वस्त हुन सकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS