काठमाडौँ — सरकारले कारोना संक्रमण फैलिन नदिन सीमा नाका बन्द गरेपछि बीउको औपचारिक आयात बढेको छ । चालु आर्थिक वर्षमा १ अर्ब ५३ करोड रुपैयाँको बीउ आयात भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक छ । यस अवधिमा सबैभन्दा बढी धानको बीउ आएको केन्द्रले जनाएको छ ।
‘गत आवमा १ अर्ब २७ करोड रुपैयाँको बीउ आयात भएकोमा चालु आवमा १ अर्ब ५३ करोड रुपैयाँको भित्रिएको छ । जसमध्ये सबैभन्दा बढी धानको बीउ २७ सय ८० टन आयात भएको छ,’ केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंले भने, ‘गत वर्षको तुलनामा धानको बीउ ९ सय २२ टन बढी आयात भयो ।’ मकै बीउको आयात पनि सामान्य बढेको छ । तरकारीको बीउ भने आयात घटेको छ । केन्द्रका अनुुसार गत वर्ष १ सय ६० टन आयात भएको तरकारी बीउ अहिले ८३ टनमा झरेको छ । तरकारीको करिब ३५ थरीको बीउ आयात हुन्छ ।
तरकारी बीउको आयात घट्नुको एउटा कारण डीएनए परीक्षण रहेको हुमागाईंले बताए । गरिमा जातको हाइब्रिड धानको बीउ नक्कली परेपछि सरकारले बीउ आयात गर्दा अनिवार्य डीएनए परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेको छ । ‘कतिपय कम्पनीले डीएनए रिपोर्ट दिन मानेनन् । एउटा जातको नाममा अर्को जात आउन पाएन,’ हुमागाईंले भने, ‘त्यही भएर तरकारी बीउको आयात घट्यो ।’
धानको बीउको हाहाकार हुने आकलनले बढी कम्पनीले आयात गरेको केन्द्रको दाबी छ । बीउ आयात गर्नकै लागि करिब ४० कम्पनी केन्द्रमा छन् । बीउ भारत, चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट आयात गरिन्छ । ती कम्पनीले मुख्यतस् धान, मकै र तरकारीको बीउ आयात गर्छन् । ‘यसपालि धानको बीउ हाहाकार हुने आकलन गरिएको थियो । करिब २७र२८ कम्पनीले आयात गरिरहेकोमा यसपािल ३२ कम्पनीबाट आयात भयो,’ हुमागाईंले भने, ‘त्यही भएर बढी आयात भएको हो ।’ अनौपचारिक रूपमा आयात हुने धान पनि औपचारिक बाटोबाट आइरहेको उनको भनाइ छ ।
खुला सीमाका कारण यसअघि साइकल र ट्रयाक्टरबाट पनि प्रशस्त आयात हुन्थ्यो । एग्रोभेटमा पनि नयाँनयाँ जातका बीउ उपलब्ध हुने गरेका छन् । ‘नयाँनयाँ जात आएका छन् । सरकारी निकायमा रजिस्टर नभएका जात पनि बजारमा देखिएका छन्,’ बाली विज्ञान महाशाखाका वैज्ञानिक सुशील सुवेदीले भने, ‘बीउको गुणस्तरका सन्दर्भमा बीउबिजन केन्द्र, नगरपालिका र ज्ञान केन्द्रले नियमन गर्नु जरुरी छ । नभए गरिमाको जस्तै अवस्था हुन्छ ।’ केन्द्रका अनुसार मकै, धान र तरकारीको हाइब्रिड बीउ आयात हुन्छ । स्वदेशी हाइब्रिड प्रणाली बलियो छैन । हाइब्रिड धेरै फल्ने हँुदा किसानले बढी रुचाएका छन् । नेपालमा धान, मकैको बीउ करिब ३० हजार टन उत्पादन हुन्छ । यो कुल मागको १५ प्रतिशत मात्रै हो ।
FACEBOOK COMMENTS