काठमाडौँ ,११ फागुन- नागरिक लगानी कोष र पर्वतको फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । असंगठित क्षेत्रका विपन्न मजदूरको ५ सय रुपैया योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका विपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ ।
नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुश्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व अन्तर्गत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख,उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रशंशा गरेका थिए ।
FACEBOOK COMMENTS