काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले अटोमोबाइल क्षेत्रका विद्यमान समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे प्रस्ताव पेस गरेको छ ।
नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई भेट्न नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा आज बिहीबार राष्ट्र बैंक गएको प्रतिनिधिमण्डलले नेपाली अटोमोबाइल क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको भन्दै सो प्रस्ताव पेश गरेको हो ।
‘हामीले नवनियुक्त गभर्नर विश्व पौडेलज्यूलाई भेटेर मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरुको नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव प्रस्तुत गरेका छौँ,’ नाडाका अध्यक्ष करण चौधरीले भने, ‘उहाँसँगको भेटमा विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यावहारिक अवरोध, कर्जा नीतिमा देखिएको असामञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेका छौँ ।’
अध्यक्ष चौधरीका अनुसार अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यावहारिक कार्यान्वयन, लोन टू भ्यालू अनुपात न्यूनतम ७०५ बनाइनुपर्ने, ईभी तथा हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याउनुपर्ने, डेब्ट सर्भिस टू ग्रोस इनकम रेसियोमा लचकता अपनाउनुपर्ने र वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरिनुपर्ने प्रस्ताव नाडाको छ ।
सो भेटघाटमा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित रहेको चर्चा गर्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए । यस्तै, छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तक्र्रिया कार्यक्रम गर्ने प्रस्ताव राखेका छन् ।
प्रतिनिधिमण्डलको प्रस्ताव र कुराहरू सुनेपछि गभर्नर डा. पौडेलले नाडाको सुझावहरुलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरुमा छलफल गरी समन्वयसमेत गरिने आश्वासन दिएका छन् ।
भेटघाटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय यमुना श्रेष्ठ तथा दीपेन्दकुमार मिश्रसमेतको उपस्थिति रहेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
यस्ता छन् पाँच प्रस्तावहरू–
FACEBOOK COMMENTS