भरतपुर, पुस २३ – नारायणगढ–मुग्लिन सडकखन्डको पहिरो रोकथामको काम नसकिएपछि आज (बुधबार) र भोलि दिउँसोे पनि सडक बन्द हुने भएको छ ।
सडक आयोजनाले मंगलबार सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।
गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।
सो कार्य नसकिएको हुँदा बिहीबार दिउँसो पनि सोही समयमा सडकखन्डमा सवारी–साधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भएपनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए ।
सो अवधिमा अत्यावश्यक सवारी–साधनलाई प्रवेश दिइनेछ । सडकखन्डको ८ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रीवाहक सवारी–साधन १५ किलो र मालवाहक सवारी–साधन दासढुंगामा रोकिनेछन् ।
यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रीवाहक सवारी–साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी–साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ । रासस
FACEBOOK COMMENTS