काठमाडौं, कात्तिक २० – नेपाल वायुसेवा निगमले चार्टर उडानको भाडा घटाउने भएको छ । निगम व्यवस्थापनले तेलको मूल्य घटेको भन्दै १५ देखि २० प्रतिशतसम्म चार्टर उडानको भाडा घाटाउने भएको हो । निगम ग्राहक सेवा विभागका प्रमुख जनकराज कालाखेतीको संयोजकत्वमा गठित अध्ययन कार्यदलले वर्षौँपछि चार्टर उडानको भाडा कटौती गर्ने गरी अध्ययन प्रतिवेदन बुझाएको हो ।
कार्यदलका सबै विभागका प्रमुखहरू सहभागी थिए । निगमले एयरबस ३३०, एयरबस ३२० र ट्विनअटर जहाजको चार्टर उडानको भाडा घटाउन लागेको हो । नियमिततर्फको भाडा भने प्रत्येक दिनजसो कमर्सियल विभागले बढाउने र घटाउने गरे तापनि चार्टरतर्फ भने लामो समयसम्म एउटै भाडादर कायम गरिएको थियो । कार्यदलले एयरबस ३३० जहाजका लागि प्रतिघन्टा १५ हजार ५ सय डलरमा उडान गर्ने गरी प्रतिवेदन बुझाएको छ ।
हाल १८ हजार ५ सय डलर प्रतिघन्टा शुल्क लाग्ने गरेको छ । त्यसैगरी, ३२० जहाजका लागि पनि प्रतिघन्टा ७ हजार ५ सय डलर बनाउने प्रस्ताव गरिएको छ । हाल ३२० जहाजको प्रतिघन्टा ८ हजार ५ सय डलर रहेको छ । यता अन्तरिक उडान भर्ने ट्विनअटर जहाजका लागि १७ सय डलरबाट घटाएर १३ सय डलरमा ल्याउने गरी प्रतिवेदन बुझाइएको छ ।
FACEBOOK COMMENTS